# उड्दै गएका रङ्गहरू – प्रदीप अनजान

 भावनाको बिस्कुन फिँजारेर जब अतीतको विछ्यौनामा पल्टिन्छु, मरुन कलरको लिपिस्टिक पोतिएको त्यो मायावी ओठको आक्रमणमा परिरहन्छु।

                 कुरा एकादेशकै हो। जुन बेला उमंग, खुशी र रहरहरुका पाइताला भाँचिइसकेका थिएनन्। जुन बेला आफ्नै अनुहारमा कुनै परीकथाको राजकुमार वास बस्थ्यो। जुन बेला जति हिँडेर पनि खुट्टाहरु थाक्दैनथे, उन्मादमा चिच्याउँदा बसेको स्वर पनि गीतहरुमा लय हाल्न खोज्थे। जुन बेला सारा संसार नै आफ्नो जीवनको पाण्डुलिपिझैँ लाग्थ्यो। हो, यो त्यही बेलाको कुरा हो।

               आज जिन्दगीले हातमा घडी बाँधिदिएको छ। अब त्यो बेला छैन, मात्र अबेला छ। अलिखित जीवनको आख्यानको पाण्डुलिपिमा दर्शनका धमिरा लागिसकेका छन्। अब त मसँग रहरहरु होइन, केवल तर्क र कहरहरु बाँकी रहेछन्। आज ऐनामा आफ्नै अस्तित्वको खण्डहर सुम्सुम्याउँदै गर्दा सोच्छुमान्छे बूढो हुन पनि केश सेताम्मे फुल्नु नपर्ने रहेछ, मात्र एक तिक्त सम्झना काफी हुँदोरहेछ।

              त्यसबेला म सिकारु चुरोटे थिएँ। कुनै पनि लतको सुरुवाती अवस्था अलि संकोचपूर्ण रहने गर्छ। त्यसमाथी अरु कसैले फ्याट्ट देखिदेला कि भन्ने एउटा लजालु त्रास। अत: साँझतिर नारायणी किनारतिर टहलिनु, सूर्यास्त हेर्दै दुईचार खिल्ली धुवाँ उडाउनु र इयरफोनमा `श्रुतिसंवेग´ बजाएर आँखा चिम्लिदै किनारको चौरमा पल्टिनु दैनिकीका नियमितताहरुजस्तै थिए।

             त्यस्तै एक साँझ बगरमा बसेर नारायणीका लहरहरुमा जीवनका लयहरु खोज्दै गरेको मेरो एकाग्रता कसैको आवाजले झस्कियो। आवाजतिर फर्किएँमेरो सामुन्ने एक चस्मिस केटी उभिएकी छे। सर्सर्ती हेर्छुहातमा जेलिएको इयरफोन र `पागल बस्ती´ को किताब छ। अर्को प्लेन कभर भएको किताबजस्तै केही छ,शायद डायरी होला। फेरि क्वारक्वार्ती हेर्छुसामान्य साजसज्जा र भेषभूषामा पनि कोही यति सुन्दर हुँदोरहेछ।

`तपाइँसँग आगो छ?´ – अर्को हातमा त चुरोट समातेकी रैछे। शायद मैले अघि चुरोट सल्काएको देखेकी हुनुपर्छ।

`आगो त तिम्रा आँखाहरुमा छ!´ – भनिदिउँजस्तो लाग्छ। फेरि आफ्नै कल्पित उत्तर सम्झेर फिस्स हाँस्छु। पावरदार चश्माभित्रका कमजोर आँखा पनि त्यति चम्किला र तेजिला मैले अहिलेसम्म देखेको थिइनँ।

`किन हाँस्नुभयो?´ – उ आँखीभौं उचालेझैं गर्छे।

`केही होइन´ – म अलिबेर अलमलिन्छु र आफ्नो लाइटर अघि बढाउँछु। उ चुरोट ओठमा च्यापेर अघि बढ्छे। अहो! मरुन लिपिस्टिक पोतिएको त्यो ओठ, जसको थर्थराहटमा आफ्नै धड्कनको चाप प्रतिबिम्बित भएझैं लाग्छ। आफ्नो सारा अस्तित्व त्यही चुरोटमा कल्पिदै लाइटर बालिदिन्छु ।

`तपाइँ चुरोट खाने मान्छेजस्तो देखिनुहुन्न।´

`तपाइँ पनि त यति एकलकाटे जस्तो त देखिनुहुन्न नि!´ – चुरोटको एक कस तानेर फुकिनभ्याउँदै उ ख्याकख्याक खोक्न थाल्छे। म खुलेरै हाँसिदिन्छु। उ हाँसोमा मजैले साथ दिएर भन्छे

`बहिनी र म मिलेर बाबाको चुरोट चोरेर ट्राइ त उहिल्यै मारिसकेको हो। आज चाहिँ भर्खर किताब पढिसकाएँ, कताकता आँफै सकिएजस्तो आभाष भयो अनि उडाइदेको नि!´ – उ फेरि लहर मिलेका दाँतहरुमा खितित्त हाँसी। सोचेंकेटी भावुक रहिछे।

           उ जेलिएको इयरफोन फुकाउँदै थिई। म आफ्नै मनका उल्झनहरु केलाउँदै थिएँ। मलाई त्यसबेला हावामा लहराइरहेको उसको कपाल र नारायणीका लहरहरु मिल्दाजुल्दा लागे। थाहा छैन, ती लहरहरुमा मैले कतिपल्ट डाइभ हानें!

`बाइ द वे, म दीप्ति।´ उसले आफ्ना खिरिला औंलाहरु तन्काएर हात मतिर बढाइ। अलमलमै म मुस्कुराइ मात्र रहें। हात मिलाएर धन्न भनेछु – `म समीप।´

`गीत सुन्ने?´ – यतिखेर उसले जेलिएको इयरफोन मिलाइसकेकी थिइ। मैले टाउको हल्लाएँ। उ केही वर सरेर बसी। दुबैले कानमा इयरफोन घुसार्यौँ।

गीत बजिरह्यो…. साँझ घर्किइरह्यो..

              सम्बन्धको मोटामोटी सुरुवात यही थियो। त्यसपछी त्यो साँझ मिलाएको त्यो न्यानो हात समातेर मैले त्यो किनारमा कति पदचापहरु छोडेँ, त्यो त मेटाइहिँड्ने लहरहरुलाई नै थाहा होला। कतिपटक हामीले पढेका किताबका र सुनेका गीतका हामी नै पात्रहरु भयौं। उसका आँखाहरुमा सिङ्गो निश्छल नारायणी बग्थ्यो, जसमा म घण्टौंसम्म आफ्नो प्रतिबिम्ब नियालिबस्थेँ। त्यो मरुन लिपिस्टिक पोतिएको उसको थर्थराउँदो ओठ मेरो धड्कन नाप्ने स्टेथोस्कोप नै थियो। यही सुरुवातको टेको समातेर नै हाम्रो सम्बन्धले चुरोटदेखी चिया र चुम्बनसम्मको यात्रा तय गर्यो।

             सम्बन्ध त्यहीँसम्मको सुन्दर हुँदोरहेछ, जहाँसम्म हामीले त्यसमाथी कुनै नाम थोपरिदिँदैनौँ। जब कुनै निस्वार्थ अनुभूतिलाई स्वार्थको आड दिन थालिन्छ, त्यहीँदेखि सारा गोलमाल सुरु हुन्छ। त्यसैले कथाको सुरुवातभन्दा अन्त्य लेख्न निकै गाह्रो लाग्ने गर्छ। भनिने गर्छ – `हरेक अन्त्य आँफैमा एउटा सुरुवात हो।´ तर अध्याय नयाँ भए पनि पुस्तक त हामी उही नै बाँचिरहेका हुन्छौं। अत: यो अन्त्यहीन कथा हो, कमसेकम बाँचुन्जेलका लागि।

            एक साँझ उ मेरो काँधमा धेरैबेर निदाइरही। मैले चुरोट फुकिरहेँ। यो मौनताको संगीतमा अर्कै रहस्य पो रहेछ। मैले मसिनो स्वरमा भनें

`दीपू! हाम्रो बारेमा केही सोचेकी छौ?´ – उसले मलाई एकतमाससँग हेरिरही र आँखा अन्तै डुलाएर भनी

`हामी किनाराहरु हौँ समीप! किनारामै भेटिएका। लहरहरुले किनाराका गीत सुन्दैनन्, कथा बुझ्दैनन्। तिनीहरुको आफ्नै संगीत र आख्यान हुन्छ।´ – मैले अँगालो अझ बलियो गरि कसेँ। त्यो साँझ हामी निकै अबेरसम्म त्यहीँ बसिरह्यौँ। हामी फर्किदै गर्दा नारायणी एकोहोरो सुसाइरहेको थियो।

                  त्यसपछिका कैयन् साँझहरु एकतमासको पर्खाइमा गुज्रिए। उ हराएसँगै हराएका थिए मेरा कथाहरु र रहर बोकीहिँड्ने गीतहरु। आँफैभित्रको निस्सारता चिर्ने संगीत अब मसँग त्यही ग्याँस सकिएको लाइटर थियो, त्यही प्याट्टप्याट्ट पारिरहेँ। उसले त किनारा भनेकी थिइ, म त पर्खाइमै एउटा सिङ्गो मरुभूमि बनिसकेछु, जसलाई चकचके लहरहरुसमेत गिज्याउन आउँदैनन्। हामी किनारा नै ठीक थियौं दीप्ति! कमसेकम स्पर्शले कुत्कुत्याइदिने केही लहरहरु त थिए हामीसँग।

दीप्ति!

             आजकल नारायणी किनार अर्कै भएको छ। पार्क, ताँतीका ताँती पसल र मान्छेहरुको ठेलमठेल भीडभाडमाझ हाम्रो कथा कतै पुरिएको छ। न त त्यसको उत्खनन गर्ने साहस नै बाँकी छ मसँग। अब त त्यत्रो भीडभाडमाझ पावरदार चश्माको पहरेदारीमा रहेका मेरा कमजोर आँखाहरु तिमीलाई ठम्याउन पनि नसक्ने भैसकेका छन्। मैले म हुनुको तेज गुमाइसकेको छु।

             आजभोलि जब अतीतको विछ्यौना भारी भएर कोल्टे फेर्दाफेर्दै रात अनिँदो रहन्छ, तब सिरानीमुनिबाट तिम्रो मरुन चुम्बन पोतिएको रुमाल निकाल्छु। र तिम्रो सम्झनाको यही बाँकी अंशमा आफ्ना रसाइरहेका शुष्क संवेदनाहरु सोस्न खोज्छु।

दीप्ति!

             मैले लेख्न सकेको हाम्रो कथाको सुखद अन्त्य यही हो। अब त रुमालमा आँशुका डोबहरु धेरै छन् र उड्दै गइरहेछ तिम्रो मरुन लिपिस्टिकको रङ्ग….

नेप्लन मल्ल.

author / publisher.

published : 10 October 2020

Leave a Reply

web devlopear & Graphic designer